सिनेमा नचल्दा पनि कलाकारले पारिश्रमिक चर्को लिएको गुनासो
जय सिक्किम फिल्मस् र बन्धु फिल्मस्को प्रस्तुतीमा चलचित्र ‘चिनारी’ को निर्माण हुने भएको छ । लय संग्रौलाको निर्देशनमा तयार हुन लागेको यो सिनेमालाई अभिकिसोर संग्रौलाले निर्माण गर्न लागेका हुन् ।
चलचित्रको विहिबार शुभमुहुर्त गरिएको हो । युगेश रायमाझीको कथामा तुलसी पराजुलीको संगीत रहने यो सिनेमामा उमेश नेवाको द्वन्द्व, शंकर बीसीको नृत्य रहनेछ ।
चलचित्रमा प्रज्वल गिरी, शैलेस वखती, जानुका बोहरा, प्रविन शाह, विद्या कार्की, उत्तम केसी, श्याम प्रसाईका साथमा नव कलाकार रमिला अधिकारीको अभिनय रहनेछ । चलचित्रको छायांकन शुक्रबारबाट सुरु गरिने निर्देशक संग्रौलाले बताए ।
कार्यक्रममा बोल्दै निर्देशक संग्रौलाले सिनेमा नचलिरहेको समयमा पनि चल्तिका कलाकारहरुले पारिश्रमिक चर्को लिने गरेको गुनासो गरे । उनले भने, ‘सिनेमा नचल्दा पनि चर्चित अनुहारहरुले पारिश्रमिक धेरै लिदा नयाँ अनुहार लिन निर्माताहरु वाध्य भएका छन् ।’



