‘तोरी लाहुरे’ गजित
चलचित्र ‘मायाज बार’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका नायक गजित बिष्ट बजारमा अहिले ‘तोरी लाहुरे’ को नामले चर्चित छन् । एन.बी महर्जनले निर्देशन गरेको चलचित्र ‘तोरी लाहुरे’ मा अभिनय गरेपछि उनको पछाडी यो ट्याग लागेको हो ।
अनलाइनखबरसँग कुरा गर्दै गजितले भने, ‘यो सिनेमा प्रदर्शनमा आएपछि मलाई दर्शकले तोरी लाहुरे नामले चिन्नेछन् ।’ आफुलाई कसैले तोरी लाहुरे भन्दा खुशी लाग्ने उनको भनाई छ ।
‘मायाज बार’ मा अभिनय गरेपछि गजितको हातमा अहिले आधादर्जन सिनेमा छन् । तर गजित भन्छन्, ‘मलाई ‘तोरी लाहुरे’ ले छुट्टै पहिचान दिनेछ ।’ कसैको मुखबाट तोरी लाहुरे भनेको सुन्दा खुशी र दंग पर्छु, गजित भन्छन् ।
नेपाली सिनेमाका कैयौ चर्चित कलाकारहरु आफ्नो नामले भन्दा पनि सिनेमाको नामले चिनिने गर्छन् । कलाकार बसुन्धरा भुषाललाई धेरैले नक्कली भनेर चिन्छन् । यस्तै सुनिल थापालाई चलचित्र ‘चिनो’ ले ‘राते काइला’ को नामले चिनाएको छ । अब गजितले भनेजस्तै उनलाई ‘तोरी लाहुरे’ ले तोरी लाहुरे भनेर चिनाउँछ या चिनाउदैन त्यो हेर्न बाँकी नै छ ।



