फिल्ममा नायक, समाजमा खलनायक ! किन भत्कन्छ, कलाकारको परिवार ?

विजय आवाज

सिनेमाका नायक-नायिकाहरु समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । यी नायक-नायिकाहरुले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाक्षेत्रलाई हेर्ने हो भने सिनेमाका नायक, नायिका एवं कलाकर्मीहरु समाजमा आदर्श पात्रका रुपमा कमैमात्र स्थापित हुन सकेका छन् । विशेष गरी कलाकारहरुको पारिवारिक जीवन आदर्शमय एवं सबैका लागि प्रेरणाको स्रोत बन्न सकेका छैनन् ।पर्दामा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका अनि असल श्रीमान-श्रीमतीको भूमिकामा देखिएका धेरैजना कलाकर्मीहरु वास्तविक जीवन भने भद्रगोल छ । नेपालका धेरैजसो कलाकारहरु पारिवारिक समस्याबाट ग्रसित देखिने गरेका छन् । आखिर किन यति सहजै भत्कन्छ नेपाली कलाकारहरुको परिवारिक जीवन ?

कलाकार भैसकेपछि सञ्चारमाध्यममा साना-साना कुराले पनि स्थान पाउने भएकाले धेरै कलाकारको वास्तविक जीवनशैली जनताबाट छुप्दैन । यसैले हुनुपर्छ, पर्दामा देखिने सुन्दर जीवन र वास्तविकतामा देखिने भद्रगोल स्थितिबारे सर्वसाधारणमा कौतुहल र चासो रहने गरेको छ ।

पर्दामा सफल, परिवारमा असफल

नायक भुवन केसीले धेरैवटा चलचित्रमा नायकको अभिनय गरेका छन् । ती चलचित्रमा उनी आदर्श प्रेमी, आदर्श श्रीमान् र आदर्श बाबु बनेका छन् । पर्दामा देखएकिो यही आदर्शले गर्दा नायक केसीले धेरैजना ‘फ्यान’हरु कमाए । तर, वास्तविक जीवनमा भने केसीले यो नायकत्व बचाउन सकेनन् । पहिलो परिवार प्रेमपूर्ण हुन नसकेपछि दोस्री श्रीमती भित्राए पनि केसीका दुबै श्रीमती उनीसँग रहन सकेनन् ।

बुढेसकाल लाग्दै गएपछि साथी भनेकै श्रीमती हुने भए पनि भुवनका लागि भने यो अवसर मिल्न सकेन । अहिले उनी दुई श्रीमतीबाट टाढा रहेर एक्लो जीवन जिइरहेका छन् । यद्यपि बुढेसकाल लागे पनि उनलाई विभिन्न महिलासँग जोडेर चर्चा गर्ने गरिएको छ । ‘घरभरि कपडा वीरे नाङ्गै’ भन्ने आहानजस्तै दुई छोरा र दुई श्रीमतीका धनी भएर पनि नायक केसी एक्लो र निरस जीवन बिताउन बाध्य छन् । चलचित्रमा सफल देखिएका नायकको आन्तरिक जीवन यस्तो तहस-नहस हुनु दुखद पक्ष त हो नै, तर पर्दाको नायक वास्तविकतामा किन नायक बन्न सक्दैन भन्ने प्रश्न पनि सँगसगै उठ्न स्वाभाविकै हो ।

चर्चित नायक शिव श्रेष्ठ पनि दुई श्रीमतीका धनी हुन् । पहिलेकी पत्नीले छाडे पनि कान्छीले शिवलाई माया दिइरहेकी छन् । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीका त झन् ३ श्रीमती छन् ।

श्रीमान सुरज चन्दसँग वैवाहिक जीवन सुखद बन्न नसकेपछि नायिका पूजा चन्दले अमेरिका पुगेर आफुभन्दा कान्छा युवकसँग बिहे गरेकी छन् । वैवाहिक जीवन बिग्रिएका कलाकारहरुको सूचिमा नायिका रेखा थापा र निर्माता छविराज ओझा पछिल्लो चर्चामा छन् । नेपालकी नम्बर १ नायिका भनेर चिनिएकी रेखा र नम्बर १ निर्माताको चर्चा पाएका छविको वैवाहिक जीवन एक दशकसम्म चल्यो । तर अहिले यी दुई छुट्टाछुट्टै बस्दै आएका छन् । नायिका थापा आफुले आमा बन्ने अवसर नपाएको गुनासो बेलाबेलामा गर्छिन् भने निर्माता छविले पनि पत्नी सुख पाउन नसकेको गुनासो गर्ने गरेका छन् । त्यसो त छविका यसअघिका २ श्रीमती पनि उनीसँग छैनन् ।नायिका रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईवीचको वैवाहिक जीवन पनि असफल रहेको छ । बिहे गरेको केही बर्षमै श्यामले रञ्जनलाई अमेरिका पठाए । तर, श्यामलाई समेत अमेरिका लैजाने तयारीका साथ त्यहाँ पुगेकी रञ्जना नेपाल फर्किनन् र श्यामको मायालाई पनि चटक्कै बिर्सिइन् । श्याम अहिले नेपालमा दोस्रो बिहे गर्छु भन्दै भौतारिरहेका छन् भने नायिका शर्मा उता अमेरिकामा दोस्रो बिहेको तयारी गर्दैछिन् । कतिले रञ्जनाले बिहे नै गरिसकेको बताउँदै आएका छन् ।

निखिल उप्रेती पर्दामा कम्ति राम्रा नायक होइनन् । तर, उनी पनि वैवाहिक जीवनमा भने नायक नभएर खलनायक जस्तै देखिएका छन् । पहिली श्रीमती कोपीला उप्रेतीसँग प्रेम विवाह गरेका निखिलले नायिका सञ्चिता लुइटेलसँग दोस्रो बिहे गरेका छन् । कोपिलाका साथबाट एक छोरालाई जन्म दिएका निखिलले सञ्चिताको कोखबाट भने २ सन्तानलाई जन्म दिइसकेका छन् ।नेपाली सिनेमाको सुनौलो करिअरलाई उनले सञ्चिताको प्रेमका लागि तिलाञ्जली दिएका छन् । यद्यपि अहिले निखिलले कोपिला र सञ्चिता दुबैलाई सम्हाल्न सकेका छैनन् । दुबै श्रीमतीलाई नेपालमै छोडेर उनी भारततिरै भौंतारिरहेका छन् । चलचित्रको छायांकनका क्रममा निखिल र सञ्चिताको अबैध सम्वन्ध गाँसिएको हो । सञ्चिता आफैं पनि नायक आकाश शाहसँग डिभोर्स गरेर बसेकी थिइन् ।

पारिवारिक विखण्डन त एकातर्फ छदैछ, अर्कातिर नम्रता श्रेष्ठ, पूजा लामा, श्रृषा कार्की, प्रकाश ओझा, जेशिका खड्का आदिका स्क्यान्डलले पनि यो क्षेत्रलाई थप विवादस्पद बनाउँदै आएको छ ।
पर्दामा जति सुन्दर देखिए पनि वास्तविक जीवनमा नेपाली कलाकारको जीवन किन सुखमय नदेखिएको होला ?

चलचित्र क्षेत्रै विवादास्पद

चलचित्र क्षेत्र आफैंका विवादास्पद मानिन्छ । वास्तविक जीवन एकातिर भए पनि अर्कैका श्रीमान्-श्रीमतीसँग अभिनय गर्नुपर्ने र कतिपष््य अवस्थामा अर्कैसँग सुत्नुपर्ने भएकाले यो क्षेत्र पारिवारिक जीवनमा निकै संवेदनशील मानिन्छ । शायद यही भएर हुनुपर्छ, प्रायःजसो निर्माता, निर्देशक, नायकहरु कुनै न कुनै नायिकासँग जोडिएका छन् । यसरी नायिकासँग नाम जोडिँदा उनीहरुको घरायसी जीवन किचलो हुनु स्वाभाविकै हो । यस्तै हल्लाका भरमा कत्तिको परिवारमा डिभोर्स हुने गरेको छ भने भने कत्तिको घरायसी जीवन किचलोमै बित्ने गरेको छ ।

लामो समयसम्म एकैठाउँमा काम गर्नुपर्ने, हरेक पलसँगै रहने जस्ता कारणले गर्दा कलाकारहरु एकअर्कामा आकषिर्त हुने गर्छन् । यो आकर्षणले उनीहरुलाई आफ्नो घरायसी जीवनलाई समेत बिर्साउन वाध्य बनाइदिन्छ । यसैले पनि धेरै चलचित्रकर्मीको वैवाहिक सम्बन्ध बिग्रने गरेको अनुभवीहरु बताउँछन् ।

किन हुन्छ यस्तो ?

कलाकारको परिवारमा देखिने पारिवारिक विखण्डनका विषयमा चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीको आफ्नै तर्क छ- ‘घरभन्दा बाहिर धेरै समय कटाउनुपर्ने भएकाले उनीहरुको परिवारमा असमझदारी बढ्ने गरेको हो ।’ बिदुर भन्छन्- ‘कलाकारहरु घरमा पनि आफुलाई सेलिब्रेटी बनाउन खोज्छन्, जसले गर्दा समस्या उत्पन्न हुने गर्छ ।’ उनका अनुसार डिभोर्स सबै ठाउँमा हुने भएता पनि मिडियाको आँखा चाँडै पुग्ने भएकाले सिने नगरीको चर्चा बढ्ता हुने गरेको हो ।

त्यसैगरी सिने क्षेत्रमा राम्रो दख्खल राख्ने पत्रकार भरत शाक्य यौन असन्तुष्टिका कारण कलाकारहरुको डिभोर्स हुने दाबी गर्छन् । सुरुमा नसोची हतारमा बिहे गर्ने र पछि अरुलाई राम्रो देख्ने कारणले गर्दा कलाकारको डिभोर्स हुने गरेको उनी बताउछन् । पुरुष चलचित्रकर्मी राम्रो पैसा कमाउने युवतीतर्फ मोडिने र महिला चलचित्रकर्मीहरु काठमाण्डौमा घर र पैसा कमाउने सपनामा मोडिने गरेकाले पारिवारिक रुपमा समस्या आएको भरतको विश्लेषण छ ।

राम्रा पनि छन्

चलचित्र क्षेत्रमा घरबार नबिगि्रएका कलाकार पनि धेरै छन् । पर्दामा जस्तै वास्तविक जीवनमा पनि सुन्दर घरबार सम्हालेका कलाकारको जोडी प्रशस्तै भेट्न सकिन्छ । नायिका करिश्मा मानन्धर र विनोद मानन्धरको जोडी सफल यस्तै सफलमध्येको एक मानिन्छ । उमेरका हिसाबले अन्तर भएपनि करिश्मा र बिनोदको जोडी सफलताका साथ चलेको छ ।यस्तै चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको जोडीलाई पनि सफल मानिन्छ । नेपाली समाजमा समेत उदाहरणीय पात्रका रुपमा चिनिने श्रेष्ठको पारिवारिक जीवन पनि सुन्दर छ । त्यस्तै अर्का कलाकार हरिबंश आचार्यले श्रीमतीको निधनपछि विधवासँग विवाह गरेर आदर्श उदाहरण प्रदर्शन गरेका छन् ।

त्यस्तै अग्रज कलाकार बसुन्धरा भुषालको पारिवारिक जीवनशैली पनि उदाहरणीय र सुन्दर छ । भुसालजस्तै कलाकारहरु पनि धेरै छन्, जसको पारिवारिक जीवन पर्दाको जीवनमा धेरै ठूलो दुरी छैन ।

कलाकार बनेर पर्दामार्फत समाजलाई सन्देश दिने अभियानमा लागेका समाजले मानेका कलाकर्मीहरुले ‘रिल लाइफ’ र ‘रियल लाइफ’लाई उस्तै बनाउनेतिर पो ध्यान दिने हो कि ?

 

 

 

2 Comments on “फिल्ममा नायक, समाजमा खलनायक ! किन भत्कन्छ, कलाकारको परिवार ?”

  • With Love From Desert wrote on 6 March, 2013, 11:36

    Thanks for onlinekhabar for bringing so many bitter facts of the life of people who live in “Reel” & “Real”.

    [Reply]

  • Bale Sherpa (सिन्धुपाल्चोक) wrote on 7 March, 2013, 17:32

    हाम्रो देश नेपाल मा न त राजनीतीक नेता ठीक छ,
    न त फील्म का आभीनेता नै, सबै नै कुकूर ले आछी पाए झै,
    मान्छे को आछी नी खाको छ,
    कुकूर कै आछी नी खाको छ ॥ आक्षी खानु पाए
    भै हाल्यो नी!!!!!!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries