प्रमोदले गाउँदा आयोजकलाई मुस्किल
सुमन गिरी
‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ भन्दै गायक प्रमोद खरेल स्टेजमा उक्लिंदा दर्शक दीर्घाबाट हुटिङ सुरु भयो । गीत सक्न नभ्याउँदै ‘वान्समोर’को आवाज गुन्जिइरह्यो । उनलाई क्रेजी दर्शकबाट बचाउन मात्र हैन, निरन्तरको ‘वान्समोर’ले समेत दर्शकलाई कार्यक्रम अगाडी बढाउन मुस्किल पर्यो ।
नयाँ बर्षको अवसर पारेर इजरायलमा आयोजित एक भब्य सांगीतिक कार्यक्रममा प्रसिद्ध गायक प्रमोद खरेलले हंगामा मच्चाएका छन् । उनलाई साथ दिन नेपालबाट गायक हिमाल सागर, जीवन लामा र चर्चित हास्य श्रृखला मेरी बास्सैका ‘बान्द्रे’ सुरज चापागाई इजरायल आइपुगेका थिए ।
उनले आफना पुराना र नयाँ गीतहरु गाउँदा दर्शकदिर्घाबाट एकोहोरो ‘वान्स मोर’ आउन थालेपछि आयोजकलाई कार्यक्रम अघि बढाउन कठिन परेको थियो ।
वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेकी मकवानपुरकी शान्तिमाया दोङ जिवनमरणको दोशाधमा कुवेतमै उपचारार्थ रहेकोमा उनको सहायताका लागी यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका केशव कार्कीले जानकारी दिएका छन् ।
कार्यक्रममा गायक हिमाल सागर र जीवन लामाले पनि आफना चर्चित गीतहरु सुनाएका थिए । हास्य कार्यक्रम मेरी बास्सैका कलाकार बान्द्रेको प्रस्तुतीले दर्शकहरु पेट मिचिमिचि हाँसेका थिए ।
इजरायलको व्यापारिक शहर तेलअभिवको हाहगना-१३५, वेतवारवार हलमा सम्पन्न कार्यक्रम अनेकसका इजरायल च्याप्टर अध्यक्ष प्रमोद लम्सालको सभापतित्व र इजरायलका लागी नेपाली राजदुत प्रल्हाद प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधी तथा इजरायलमा कार्यरत नेपालीहरुको बृहत उपस्थित रहेको थियो । कार्कीले नेपाली कला संस्कृतिको प्रवर्द्धन तथा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने आफुहरुको प्रयत्न रहेको बताउँदै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण प्रवासी नेपालीलाई धन्यवाद दिए ।




