मिस नेपालले ताप्लेजुङका महिलालाई सहयोग गर्ने
रविन भट्टराई/ताप्लेजुङ
मिस नेपाल श्रृष्टि श्रेष्ठ अहिले ताप्लेजुङको उत्तरी विकट गाविस लेलेपको पर्यटकिय स्थल घुन्साको भ्रमणमा छिन् । सदरमुकामा फुङ्लिङ्गबाट तीन दिनको पैदल यात्रा गरेर फर्किएपछि श्रृष्टिले आफु स्थानीय बासिन्दाका लागि सहयोग गर्न ईच्छुक रहेको बताइन् ।
श्रृष्टिसँग स्थानीय महिलाहरुले सुत्केरी हुन नसकेर अकालमा ज्यान गुमाउनु परेको गुनासो गरेका थिए । श्रृष्टिले यो समस्यालाई चाडै नै हल गर्न आफुले सरोकारवाला निकायहरुसँग पहल गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । डब्लु डब्लु एफ नेपालकी युवा संरक्षण सद्भावना दुत समेत रहेकी मिस नेपाल श्रेष्ठले ताप्लेजुङ पर्यटकिय दृष्टिकोणबाट अत्यन्त सुन्दर र पर्यटकिय क्षेत्रको राम्रो सम्भावना बोकेको जिल्ला भएको बताइन् । उनले १६ र्अौ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १ सय २८ औं जन्मजयन्तिको अवसरमा श्रीबक्स गुल्म ताप्लेजुङले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उद्घाटन समेत गरेकी थिइन् ।



